आर्थिक कूटनीति सम्बन्धि प्रेस विज्ञप्ती

आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक अभिन्न अंगका रुपमा विकास गर्दै विदेशस्थित नेपाली नियोगहरुमार्फत व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी आदि प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप यस राजदूतावासबाट मिति २०७४ फाल्गुण २६ गते तद्‌नुसार २०१८ मार्च १० मा कार्यपत्र सहितको एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो ।

कतारले अवलम्बन गरेको खुला अर्थ व्यवस्थाबाट व्यापारको द्रुततर विकास भई कतारका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र (Special Economic Zones) स्थापना हुने क्रममा रहेका छन् । यस्ता क्षेत्रहरुमा विदेशी लगानीकर्ताले शत प्रतिशत पूर्ण स्वामित्वमा लगानी गर्ने सक्ने, लगानीका निश्चित क्षेत्रहरुमा १० वर्षसम्म करमुक्त हुने, उक्त क्षेत्रमा रहेका उद्योग सञ्चालनका लागि कच्चा पदार्थका आयात निर्यातमा कर छुट दिने प्रावधान सहित Special Economic Zones सञ्चालनमा आउन लागेका छन् ।कतारी सरकारको Ministry of Economy and Commerce अन्तरगतको Manateq/Economic Zones Company, Qatar का आधिकारिक प्रतिनिधि Business Analyst Mr. Samir Shaikh ले कतारमा स्थापना हुने Special Economic Zones मा हुने लगानीका लागि संभावित क्षेत्रहरु, Modalities, कानूनी एवम् संरचनागत स्वरुप लगायतका वारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै नेपाली लगानीकर्ताहरुलाई लगानीका लागि आग्रह गर्नुभयो । उपयुक्त अवसर प्राप्त हुने र सोबाट आवश्यक लाभ लिन सकिने कुरा समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमको आरम्भमा बोल्नुहुँदै कतारका लागि नेपालका राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाज्यूबाट कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै द्विपक्षीय लगानी, पर्यटन, वैदेशिक रोजगारी एवम् श्रम सम्बन्धका क्षेत्रहरुको थप विस्तारमा मद्दत पुर्याउने हेतुले कार्यक्रम आयोजना गरिएको कुरा जानकारी गराउनु भयो ।

प्रस्तुतीकरणपश्चात सहभागीहरुबीच एक अन्तरक्रियात्मक छलफल गरिएको थियो । उक्त कार्यक्रममा महामहिम राजदूतज्यूका अतिरक्त नियोग उपप्रमुख, राजदूतावासका कर्मचारीहरु, दोहाका विभिन्न क्षेत्रहरुमा व्यावसाय गरी बसेका नेपाली, कतारमा कार्यरत बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिहरु, पत्रकारहरु र विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरु आदिको उल्लेख्य सहभागिता रहेको  थियो ।

नेपाली राजदूतावास, दोहा

२०७४/११/२६