धेरै सोधिने प्रश्नहरू


सन् २०१० को डिसेम्बर देखि नेपाल सरकारले जारी गर्न सुरु गरेको MRP (Machine Readable Passport) सम्बन्धी आम जनमानसमा अझै पनि धेरै अस्पष्टताहरु रहेको पाईन्छ । ती अस्पष्टताहरुका सम्बन्धमा निम्न प्रश्नउत्तरहरु मार्फत स्पष्ट गराउन चाहन्छौ ।

प्रश्न १: पुरानो हस्तलिखित राहदानी कहिले सम्म प्रयोग गर्न सकिन्छ ?
उत्तरः हाल चलन चल्तिमा रहेको हस्तलिखित राहदानी सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्छ । कसैको हस्तलिखित राहदानीको म्याद सन् २०१५ नोभेम्बर २४ भन्दा परेको मिति उल्लेख भएको भएतापनि त्यस्तो राहदानी उक्त मिति (२०१५ नोभेम्बर २४) पश्चात प्रयोग गर्न सकिदैन । त्यसैले हस्तलिखित राहदानी बाहकले मिति २०१५ नोभेम्बर २४ अगावै MRP राहदानी बनाइ सक्नु पर्दछ ।


प्रश्न २: MRP राहदानीको लागि के के कागजात पेश गर्नुपर्दछ ?
उत्तरः क) रीतपूर्वक प्रि-इनरोलमेन्ट मार्फत् भरिएको फारम
ख) सक्कल नागरिकता र त्यसको फोटोकपी
ग) सक्कल राहदानी र त्यसको फोटोकपी

नोटः हाल राजदूतावासमा नै फोटो सहितको लाईभ इनरोलमेन्ट गरिने भएकोले फोटो नचाहिने ।


प्रश्न ३: MRP राहदानीको लागि कति दस्तुर लाग्दछ ?
उत्तरः कतारी रियाल १८५ लाग्दछ तर राहदानी हराएको, नासिएको वा राहदानीमा क्षति पुर्‌याएको अवस्थामा ३७० क.रि. लाग्दछ ।


प्रश्न ४: MRP राहदानी कहाँ बन्दछ ?
उत्तरः MRP राहदानी काठमाण्डौ नारायणहिटीस्थित राहदानी विभागमा बन्दछ ।


प्रश्न ५: कति समयमा MRP राहादानी बनेर आई पुग्दछ ?
उत्तर : दरखास्त फाराम बुझाएको मितिले सामान्यतया दुई महिनामा MRP राहादानी बनेर आउँदछ ।


प्रश्न ६: राहदानी बनेर आए नआएको कसरी थाहा पाउने ?
उत्तरः क–राहदानी बनेर आएका ब्यक्तिहरुको नामावली दूतावासको वेवसाईट www.nembdoha.com मा राखिएको हुन्छ । वेवसाइटको मुखपृष्ठमा रहेको सूचना हेरेर वा हेर्न लगाएर आफ्नो नाम रहेको लट नं. र सिरियल नं. टिपेर आउनु पर्दछ ।
ख–दूतावासको सूचना पाटीमा समेत राहदानी बनेर आएका व्यक्तिहरुको नामावली टाँस गरिएको हुन्छ ।


प्रश्न ७: MRP राहदानीको दरखास्त फाराम बुझाउन र MRP राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्दछ ?
उत्तरः हो । राहदानीको दरखास्त फाराम बुझाउन तथा राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्दछ ।


प्रश्न ८: अस्थाई राहदानी (TEMPORARY PASSPORT) कस्तो अवस्थामा पाईन्छ र यो कति अवधिको हुन्छ ?
उत्तरः MRP राहदानीको लागी दरखास्त फाराम बुझाएको तर MRP राहदानी आउन ढिला भएको अवस्थामा मात्र अस्थाई (TEMPORARY PASSPORT) राहदानी दिईन्छ । यो आवश्यकताअनुसार ६ महिना वा १ बर्ष अवधिको हुन्छ र शुल्क क.रि.८० लाग्दछ ।


प्रश्न ९: MRP राहादानी लिन आउंदा के के कागजात लिएर आउनु पर्दछ ?
उत्तरः MRP लिन आउंदा पैसा बुझाएको रसिद, पुरानो राहदानी र सक्कल नागरिकता लिई स्वयं आउनु पर्दछ । यदि अस्थायी राहदानी लिएको भए सो समेत लिएर आउनु पर्दछ ।


प्रश्न १०: दुतावासमा दरखास्त फाराम बुझाएपछि काठमाण्डौबाट पासपोर्ट लिन पाईन्छ कि पाईदैन ?
उत्तरः पाईन्छ । तर यसका लागि दूतावासले लेखेको पत्र लिएर राहदानी विभाग नारायणहिटीमा सम्पर्क गर्न जानु पर्दछ ।


प्रश्न ११: MRP राहदानीको लागि दरखास्त फाराम कहाँ पाईन्छ ?
उत्तरः यस दूतावासको वेवसाईट वा www.nepalpassport.gov.np मा गएर Online भरेर प्रिन्ट गर्न सकिन्छ ।


प्रश्न १२: MRP राहदानी बनेर आएपछि त्यसमा नाम, थर, जन्ममिति, ठेगाना सच्याउन मिल्छ कि मिल्दैन ?
उत्तरः MRP बनेपछि त्यसमा कुनै किसिमले कुनै पनि विवरण सच्याउन मिल्दैन । यदि सच्याउनु परेमा नयाँ MRP राहादानी नै बनाउनु पर्दछ ।


प्रश्न १३: MRP मा बच्चाको फोटो टाँस्न मिल्छ कि मिल्दैन ?
उत्तरः MRP मा बच्चाको फोटो टाँस्न मिल्दैन । बच्चाको पनि नयाँ MRP राहदानी नै बनाउनु पर्दछ ।


प्रश्न १४: बच्चाको MRP बनाँउदा के के कागजातहरु पेश गर्नुपर्दछ ?
उत्तरः क) बच्चाको जन्मदर्ताको सक्कल र त्यसको फोटोकपी
ख) बच्चाको बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र त्यसको फोटोकपी
ग) बच्चाको बाबुआमाको विवाह दर्ता प्रमाणपत्रको सक्कल र त्यसको फोटोकपी
घ) रीतपूर्वक भरेको दरखास्त फाराम दुई प्रति
ङ) तोकिएको ढांचाको फोटो चार प्रति


प्रश्न १५: दूताबासमा राहदानी फाराम बुझाउने र वितरण गर्ने समय के हो ?
उत्तरः राहदानी फाराम बुझाउने समय बिहान ८.०० देखी १२ बजे सम्म मात्र र राहदानी वितरण गर्ने समय दिउंसो १२ देखी २ बजे सम्म मात्र हो ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुद्धारा राजदूतावासमा बारम्वार सोधिने प्रश्नहरु र तिनका जवाफ देहाय बमोजिम रहेका छन् ।

१. कम्पनीले समयमा तलब नदिएमा के गर्ने ?
उत्तर– सनैया स्थित लेबर डिपार्टमेन्टमा गएर निवेदन गर्ने ।

२. लेबर डिपार्टमेण्टमा निवेदन गर्न के गर्नु पर्छ ?
उत्तर– आफ्नो कतारी परिचय पत्रको फोटोकपी, सो नभए भिसा कपी, सो पनि नभएमा पासपोर्ट कपी अथवा सम्झौता पत्र सहित अरबिक भाषामा लेखिएको निवेदन लिएर सनैया स्थित लेबरकोर्टमा निवेदन दिन जानु पर्दछ ।

३. अरबिक भाषामा लेखिएको निवेदन कहाँ पाउन सकिन्छ ?
उत्तर– नेपाली राजदूतावास, अबुहमरमा आएर अरबिक भाषामा निवेदन लेखाउन सकिन्छ ।

४. नेपालमा भने अनुसार वा सम्झौता पत्रमा लेखिए बमोजिम सेवा सुविधा तथा तलब नपाएमा के गर्ने ?
उत्तर– सम्झौता पत्र सहित सनैया स्थित लेबर कोर्टमा गएर निवेदन गर्ने ।

५. कम्पनीको क्याम्प राम्रो नभएमा,पानी बिजुलीको समस्या भएमा, वा अन्य कुनै पूर्वाधार नभएमा अथवा चित्त नबुझेमा के गर्ने ?
उत्तर– सर्बप्रथम कम्पनीको सम्वन्धित ब्यक्तिलाई खवर गर्ने । कम्पनीको व्यक्तिबाट सुनुवाई नभएको खण्डमा लेबरकोर्टमा गई निवेदन गर्ने ।

६. कम्पनीको क्याम्पबाट निस्कन वा नबस्न भनेर कसैले दवाव दिएमा, जवरजस्ती गरेमा वा कुटपिट गर्ने प्रयास गरेमा वा गरेमा के गर्ने ?
उत्तर– कतारी प्रहरीको निशुल्क टेलिफोन नं. ९९९ मा खबर गर्ने ।

७. आफ्नो करार अवधि सकाएर घरजान चाहेमा के गर्ने ?
उत्तर– आफुले काम गरेको कम्पनीमा राजीनामा पेश गर्ने र सो को प्रतिलिपि आफुसँग राख्ने ।

८. राजीनामा दिएर पनि कम्पनीले घर नपठाएमा के गर्ने ?
उत्तर– राजीनामा दिएको मितिले १ महिना सम्म कम्पनीमा काम गर्नु पर्ने हुन्छ । राजीनामा दिएको १ महिना पछि पनि कम्पनीले घर नपठाएमा राजीनामाको फोटोकपी सहित लेबरकोर्टमा गएर निवेदन दिने ।

९. २ वर्ष करार अवधि सकिएर घरफिर्ता हुँदा के कति रकम तथा सुविधा पाउन सकिन्छ ?
उत्तर– – पाउन बाँकी रहेको तलब रकम,
– पाउन बाँकी रहेको ओभर टाईमको रकम,
– घर फिर्ता हुनको लागि हवाई टिकट,
– सेवाको अन्त्यमा End of service (Bonus) वा Gratuity वापत तथा छुट्टि वापतको रकम (Leave Pay) ।
सेवाको अन्त्यमा End of service (Bonus/Graduaty) को हिसाव गर्ने तरिका
Basic Salary ÷ ३० x २१ दिन x २ बर्ष

उदाहरणको लागि
यदि
Basic Salary QR १००० प्रति महिना छ भने,
१००० ÷ ३० = ३३.३३ प्रति दिन
३३.३३ X २१ दिन = ६९९.९९ प्रति वर्ष X २ = १३९९.९९

छुट्टि वापतको रकम (Leave pay) को हिसाव गर्ने तरिका
Basic Salary QR १००० प्रति महिना छ भने,
१००० ÷ ३० = ३३.३३ प्रति दिन
३३.३३ x २१ दिन = ६९९.९९ प्रति वर्ष x २ = १३९९.९९

१०. कतै बाहिर निस्कदा वा घुम्न जाँदा अथवा काममा जाँदा के के कागजात साथमा राख्नु पर्दछ ?
उत्तर– आफ्नो कतारी परिचय पत्र वा सो को फोटोकपी, सो नभए भिसा कपी, सो पनि नभएमा पासपोर्ट वा पासपोर्टको फोटोकपी र कम्पनीको फोरमेन अथवा म्यानेजर वा मन्दुपको टेलिफोन नम्बर ।

११. काम गर्दाको अवस्थामा काममा, सडकमा वा अन्यत्र कतै दुर्घटना भएमा के गर्ने ?
उत्तर– विमा (Insurance) वापतको रकमको लागि कम्पनीसँग सम्पर्क गर्ने । यदि कम्पनीले दिन ईन्कार गरेमा वा आलटाल गरेमा अस्पतालको Medical Report सहित नेपाली राजदूतावासमा सम्पर्क गर्ने र प्राप्त सल्लाह अनुसार प्रकिया अगाडी बढाउने ।

१२. विमा (Insurance) वापतको रकमको लागी दावी कहिले सम्म गर्न सकिन्छ ?
उत्तर– दुर्घटना भै अस्पतालबाट Discharge भएको १ वर्ष भित्र बिमा (Insurance) वापतको रकमको लागी दावी गरिसक्नु पर्दछ । १ वर्ष नाघेमा सो रकमको दावी गर्न पाईदैन ।

१३. Cancel गएको कति समयमा अर्को कम्पनीमा फिर्ता आउन सकिन्छ ?
उत्तर– Cancel गएको २ बर्ष पछी कतार आउन सकिन्छ । तर कम्पनीले नो अब्जेक्सन (No Objection) पत्र दिएको अवस्थामा नेपाल फर्किए पछि तत्काल कतार आउन सकिन्छ ।

१४. छुट्टी गएको खण्डमा अर्को कम्पनीमा कहिले आउन सकिन्छ ?
उत्तर– छुट्टी गएको खण्डमा भिसा सकिएको २ वर्ष पछि आउन सकिन्छ ।

१५. कम्पनी बदल्न (Change) को लागि चाहिने चारित्रिक प्रमाणपत्र (Character Certificate) लिन दूतावासमा के के कागजातहरु पेश गर्नु पर्दछ ?
– जान चाहेको कम्पनीको जब अफर लेटर र सो को फोटोकपी
– जान चाहेको कम्पनीको कम्प्युटर कार्डको फोटोकपी
– पुरानो कम्पनीको नो अब्जेक्सन लेटरको फोटोकपी
– पासपोर्टको फोटोकपी
– कतारी आईडीको फोटोकपी
– पासपोर्ट साईजको फोटो २ प्रति
– राजस्व दस्तुर क. रि. ४०

ख्याल गर्नुपर्ने कुराहरु
– कसैसंग झै झगडा, मारपिट नगर्ने ।
– मादक पदार्थको सेवन नगर्ने ।
– कानूनद्धारा बन्देज लगाईएको वा गैरकानूनी क्रियाकलापहरु नगर्ने र कतै भैरहेको भए त्यसमा सरिक नहुने ।
लगनसील र ईमान्दारिताका साथ काम गर्ने ।
– कँहि कतै कुनै साथीको दुर्घटना वा मृत्यु भएको थाहा भएमा सत्य विवरणहरु सर्वप्रथम नजिकको पुलिसलाई यथाशिघ्र खबर गर्ने र नेपाली राजदूतावासलाई पनि जानकारी गराउने ।