गणतन्त्र दिवसको कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

नेपालको गणतन्त्र दिवसको अवसरमा  नेपाली राजदूतावास, दोहामा एक कार्यक्रमको आयोजना गरियो। कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाज्यूले झन्डोत्तोलन गरी कार्यक्रमको शुरुवात गर्नुभयो। सो पश्चात्, नेपालको राष्ट्रिय गान बजाईनुको साथै नेपाली कलाकारहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

अतिथिहरूलाई स्वागत गर्दै, महामहिम राजदूतज्यूले  10 वर्ष पहिले नेपाल गणतान्त्रिक मुलुक घोषणा भएको स्मरण गर्दै यसका लागि बलिदान गर्नुभएका ज्ञात-अज्ञात सहिदहरुप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले 240 वर्ष लामो राजतन्त्र/केन्द्रीकृत शासन प्रणाली समाप्त भै हाल साँचो अर्थमा जनताको सरकार स्थापित भएको बताउनु भयो । साथै, उहाँले गणतन्त्रकै माध्यमबाट नेपालको विकास तथा शान्तिको संस्थाकरण गर्ने क्रममा नेपालको संविधान 2072 जारी भएको स्मरण गर्दै संविधानको प्रस्तावनामा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा, दिगो शान्ति र सुशासनलाई अंगीकार गरिएको र समानता, संबृद्धि तथा सामाजिक न्यायको माध्यमद्धारा समावेशिता तथा सहभागिताको सिद्धान्तको आधारमा समानुपातिक समतामूलक समाज निर्माण गर्ने दिशामा अग्रसर भएको बताउनु भयो।

 

महामहिम राजदूतज्यूले कतारमा रहेका नेपाली समुदायलाई उनीहरुले गरेका योगदान तथा कल्याणकारी कार्यहरुको लागि धन्यवाद ज्ञापन गर्नुहुदैं राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी राखी आफ्ना कार्यहरु गर्न आग्रह गर्नुभयो । साथै, उहाँले सबैलाई नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूलनाराका साथ शान्त, समृद्ध एवम् विकसित नेपाल निर्माणमा एकबद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो  ।

 

कार्यक्रममा कतारमा स्थापित नेपाली समुदायका प्रतिनिधिहरू, महिला, डाक्टर, इन्जिनियर, प्रोफेसर लगायत विभिन्न पेशाकर्मी, व्यवसायी एवम् श्रमिकहरु तथा पत्रकारहरू समेतको उपस्थिती रहेको थियो। उक्त अवसरमा नेपाली समुदायका प्रतिनिधिहरूबाट गणतन्त्र दिवसका अवसरमा शुभकामना आदान-प्रदान भएको थियो। कार्यक्रमको अन्त्यमा, राजदूतावासमा रात्रिभोज आयोजना गरिएको थियो । गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते राजदूतावासमा दिपावली कार्यक्रम समेत राखिएको छ ।

 

 

नेपाल राजदूतावास

दोहा, कतार।

२०७२ जेठ १६