दोहास्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपालीका लागि ई–पासपोर्ट जारी गर्न शुरू गरेको सम्बन्धमा

दोहास्थित नेपाली राजदूतावासले आजदेखि कतारमा रहेका नेपालीलाई इ–पासपोर्ट जारी गर्न शुरू गरेको छ । यसअघि राजदूतावासले ६ फेब्रुअरी २०२२ मा प्रत्यक्ष नामांकन प्रणाली मार्फत ई–पासपोर्ट आवेदन प्राप्त गर्न थालेको थियो ।

राजदूतावासमा १५ फेब्रुवरी २०२२ सम्म आवेदन गर्नु भएका आवेदकहरू मध्ये ४२५ जनाको इ–पासपोर्ट राहदानी बिभागबाट प्राप्त भैसकेकोले आजैबाट राहदानी बितरण शुरू गरिएको हो ।

आज राजदूतावासमा पहिलो इ–पासपोर्ट हस्तान्तरण गर्दै राजदूतावासका कार्यवाहक राजदूत श्री लक्ष्मण खनालले कतारमा रहेका नेपालीहरुलाई ई–पासपोर्ट उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्नु भयो।

यससॅंगै दोहास्थित नेपाली राजदूतावास विदेशमा रहेका नेपाली नागरिकलाई ई–पासपोर्ट सेवा शुरू गर्ने र इ–पासपोर्ट जारी गर्ने पहिलो नेपाली नियोग बनेको छ।

कतारमा रहेका नेपाली नागरिकहरूलाई राहदानी विभागको वेबसाइट (https://emrtds.nepalpassport.gov.np/) बाट इलेक्ट्रोनिक रूपमा इ-पासपोर्टका लागि pre-enrollment फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामांकनका लागि सम्बन्धित कागजात सहित राजदूतावास आउन अनुरोध गरिएको छ ।

राजदूतावासको वेबसाइट www.qa.nepalembassy.gov.np र फेसबुक पेज (https://www.facebook.com/) मा इलेक्ट्रोनिक फारम भर्ने प्रक्रिया र आवश्यक कागजातहरूको सूची बारे विस्तृत सूचना जारी गरिसकिएको छ।

हालको मेसिन रिडेबल राहदानी बहाल अवधि कायम रहेको मितिसम्म प्रयोग गर्न सकिने भएकोले मेसिन-रिडबल राहदानीको बहाल अवधि बाँकी भएका व्यक्तिले ई-पासपोर्टको लागि आवेदन दिन नमिल्ने व्यहोरा समेत जानकारी गराईन्छ । हाललाई मेसिन रिडेबल राहदानीको म्याद छ महिना बाँकी रहेका नेपाली नागरिकहरूले आवश्यकता अनुसार ई–पासपोर्टका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाईएको छ ।


—————
२०७८/११/१६
२८ फेब्रुअरी २०२२
नेपाली राजदूतावास, दोहा ।