संविधानको विधेयकको पहिलो मस्यौदामा राय/सुझाव दिने सम्बन्धमा कतारस्थित नेपाली नागरिकहरूका लागि अत्यन्त जरूरी सूचना !


नेपालको संविधानको पहिलो मस्यौदा प्रचार प्रसार र सो बारे नेपाली नागरिकहरुको सुझाव संकलन कार्ययोजना, २०७२ तयार भई सुझाव संकलनको काम यही २०७२ असार २४ देखी शुरु भईसकेको र सो कार्ययोजना अनुसार विभिन्न माध्यमबाट संविधानको विधेयकको मस्यौदामा स्वदेश र विदेशमा रहेका नेपाली नागरिकहरुबाट राय सुझाव र प्रतिक्रिया प्राप्त गरी सो को संङ्कलन, अभिलेखीकरण र विश्लेषण गरी सो सम्बन्धी प्रतिवेदन संविधानसभामा पेस गरिने कार्यक्रम भएको हुँदा कतारमा बसोबास गर्नुहुने समस्त नेपाली नागरिकहरुले यही साउन ५ गते तद्नुसार २१ जुलाई २०१५ भित्र मस्यौदा संविधानमा देहायअनुसारको प्रकियाद्वारा आफ्नो सुझाव र प्रतिक्रिया उपलब्ध गराउन सक्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

  • संविधानको विधेयकको पहिलो मस्यौदा वेवसाइट ठेगाना can.gov.np/draft बाट प्राप्त गर्न सकिनेछ।
  • सोही वेवसाइटबाट आआफ्ना व्यक्तिगत/संस्थागत सुझाव/प्रतिक्रिया सीधै टाइप गरी पठाउन सकिनेछ।
  • इमेल ठेगानाहरू: comt.crcs@gmail.com र nparl.international@can.gov.np बाटसमेत आफ्ना सुझाव/प्रतिक्रिया पठाउन सकिनेछ।
  • आआफ्ना सुझाव/प्रतिक्रिया यस राजदूतावासको ईमेल ठेगाना nembdoha@gmail.com मार्फत् पठाउन वा राजदूतावासमा वुझाउन पनि सकिनेछ। यसरी राय/सुझाव पठाउँदा विषयमा Draft Constitution Comments (मस्यौदा संविधानका लागि सुझाव/प्रतिक्रिया) उल्लेख गरी पठाउनुहुन अनुरोध छ।
  • मस्यौदा संविधानको प्रस्तावना लगायत आफूले चाहेको भाग तथा अनुसूचीमा अलग-अलग रुपमा सुझाव/प्रतिक्रिया दिन सकिनेछ।
  • सुझाव दिने व्यक्तिले आफ्नो नाम, ठेगाना, उमेर, लिङ्गलगायतका विवरणहरू स्पष्टरूपमा उल्लेख गरिदिनुहुन अनुरोध छ।
  • यसरी साउन ५ गते तद्नुसार २१ जुलाई २०१५ भित्र प्राप्त भएका सुझाव/प्रतिक्रिया यस राजदूतावासले उपयुक्त माध्यामबाट संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई उपलव्ध गराउनेछ।
  • कतारस्थित सम्पूर्ण नेपाली संघ/संस्था/पदाधिकारी/व्यक्तित्वहरूलार्इ यहाँस्थित प्रत्येक नेपाली नागरिकलार्इ उपर्युक्तानुसारको महान राष्ट्रिय अवसरमा सक्रिय रूपले सहभागी गराउन यस सम्बन्धमा व्यापकरूपमा प्रचार प्रसार एवं प्रभावकारी भूमिकाका लागि नेपाली राजदूतावास, दोहा हर्दिक अनुरोध गर्दछ।

नेपाली राजदूतावास

दोहाकतार

२०७२ असार २६