संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो

कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी दोहास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनायो।
उक्त समारोहमा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारी तथा वहांहरूको परिवारको उपस्थिति रहेको थियो ।

कतारका लागि नेपाली राजदूत महामहिम डा. नारदनाथ भारद्वाजले कार्यक्रमको शुरूवातमा राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो भने नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको थियो ।

राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्ने क्रममा राजदूत डा. भारद्वाजले सम्माननीय राष्ट्रपतिज्यू तथा सम्माननीय प्रधानमन्त्रीज्यूबाट संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जारी सन्देशको महत्वपूर्ण अंशहरु वाचन गरेर सुनाउनु भएको थियो । वहांले कतारमा रहेका सबै नेपालीहरूमा राष्ट्रिय दिवस तथा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

यसै क्रममा वहांले नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिकताको चर्चा गर्दै गणतन्त्र नेपालले सम्वृद्धिको दिशातिर यात्रा शुरू गरेको सन्दर्भमा मुलुकभित्र र बाहिर रहेका सबै नेपालीले यथाशक्य योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमको संचालन राजदूतावासका द्धितीय सचिव प्रवीण भट्टराईले गर्नुभएको थियो ।
——
नेपाली राजदूतावास, दोहा ।
१९ सेप्टेम्बर २०२१