सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्र ।

नेपाली राजदूतावास दोहाले २०७६ साल कार्तिक २२ गते तदनुसार ०८ नोभेम्बर २०१९ शुक्रबारका दिन कतारमा कार्यरत नेपाली नागरिकहरुका लागि दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । कतारमा रहेका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा विस्तृत जानकारी गराईएको थियो ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत महामहिम डा. नारद नाथ भारद्वाजले उपस्थित सबैलाई श्रमिकका हक हितका लागि राजदूतावासले चालेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कतार सरकारका उच्च अधिकारीहरुसँगको भेटमा उहाँहरूले नेपाली नागरिकहरू उच्च प्रंशसा र कदरका पात्र रहनु भएको र कतारको निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको बताएकाे व्यहोरा सबैलाई जानकारी गराउनु भएको थियो । सम्बोधनका क्रममा महामहिम राजदूतज्यूले कतार अब बिकास निर्माणको अन्तिम चरणमा रहेको र सन् २०२२ को विश्वकप फ़ुटबल पछि रोजगारीका अवसरहरू उन्नत प्रकृतिका हुन सक्ने र त्यसका लागि आजै देखि सीपमूलक तालिममा जाेड दिनुपर्ने बताउनु भयो । बैदेशिक रोजगारीमा रहनु भएका नेपालीहरूले रगत र पसिना बगाएर पठाउनु भएको रिमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको र लामो समयसम्म वा सधैको लागि बैदेशिक रोजगारीमा रहन नसकिने हुँदा अब नेपाल सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको नितिलाई मूर्तरूप दिन नेपाल फर्कने योजना समेत बनाउनु पर्नेमा जोड दिदैं महामहिम राजदुतज्यूले त्यसका लागि आवश्यकताहरूलाई सिमितिकरण गरेर कम ख़र्च गरी बचत गर्ने बानी बसाल्नसमेत आग्रह गर्नु भयो । साथै विदाको दिनमा समेत राजदूतावासको निमन्त्रणालाई स्वीकार गरी सहभागी हुनु भएकोमा उपस्थित सबैलाई तथा उहाँहरुले काम गर्ने सम्बन्धित कम्पनीका अधिकारीहरुलाई समेत वहाँले धन्यवाद दिनुथियो ।
कार्यक्रममा श्रम सम्बन्धि विषयहरू तथा कतारमा नेपाली कामदारले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र त्यस प्रकारका समस्या आउँन नदिने सचेतनाका उपायहरुका बारेमा श्रम सहचारी श्री नरेन्द्रराज ज्ञवाली , राहदानी ट्राभल डकुमेन्ट तथा व्यक्तिगत माग प्रमाणिकरण बारेमा द्वितीय सचिव ऋचा भट्टराई तथा विभिन्न् प्रकारका कन्सुलर सम्बन्धी विषयमा द्वितीय सचिव भुवन प्रसाद भट्टले बोल्नु भएको प्रस्तुती राख्नुभएकाे थियाे । यसैगरी कार्यक्रमको समन्वय गर्नु भएका श्रम सहचारी श्री नरेन्द्रराज ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने द्वितीय सचिव श्री प्रवीण भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो । सोही अवसरमा कतार भ्रमणमा रहनु भएका ACCESS Advisory का Nepal Country Manager श्री अभय सिंहले रिमिट्यान्सले मानिसको जीविकोपार्जनमा पुर्याउन सक्ने प्रभाव, आफ्नै नाममा खाता खोली बचत गर्दा हुने फाईदा र नेपाल फर्के पछि आफूले कुनै व्यवसाय गर्न चाहेमा आफ्नै खाता भएको वित्तीय संस्थाबाट प्राप्त हुने ऋण आदिको बारेमा आफ्नाे प्रस्तुती राख्नु भएको थियो ।
उक्त अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित सहभागीहरूको सक्रिय सहभागिता रहेको र सहभागीहरु मध्येबाट कार्यक्रमको उपादेयताको बारेमा कतार ईन्जिनियरिंग कम्पनीका श्री कुमार बस्नेतले बोल्नु भएको थियो ।
कतारमा बैदेशिक रोजगारीको सिलसिलामा रहनु भएका नेपाली नागरिकहरुले कतारको विद्यमान कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको सन्दर्भमा त्यस्ता समस्याहरू आउनै नदिन वा कुनै कारणवश त्यस प्रकारका समस्या अएमा के कसरी समाधान गर्ने भनेर नेपाली राजदूतावास, दोहाले समय समयमा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमको मूल उदेश्य नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन चाल्नु पर्ने आवश्यक कदमहरुको बारेमा जानकारी गराउनु नै हो । राजदूतावासले गत मे र जुलाई महिनामा पनि यसै प्रकारको सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको समापन पश्चात सबै सहभागीको लागि रात्री भोजको व्यवस्था मिलाईएको थियो । सोही कार्यक्रमका अवसरमा खिचिएका केही तस्विरहरु यहाँ अपलोड गरिएको छ ।
—————
२३ कार्तिक २०७६
९ नोभेम्बर २०१९