विदेशस्थित नेपाली कामदारहरुलाई नेपाल फर्कन हवाई टिकटको भुक्तानी सम्बन्धी सूचना !


२०७२ बैशाख १२ गतेको विनासकारी महाभूकम्पमा परी आफ्नो एकाघरको परिवारको सदस्यको मृत्यु भर्इ नेपाल फर्कनुपर्ने कतारमा रहेका नेपाली कामदारहरूलार्इ २०७२ जेठ महिनाभर फर्कदा देहाय बमोजिमको कार्यविधिको अधिनमा रही बैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट हवार्इ भाडाको खर्च रकम भुक्तानी हुने व्यहोरा जानकारी गरार्इन्छ ।

१.     एकाघरका परिवारमा पति वा पत्नी, छोरा छोरी वा आमा बाबु तथा महिला कामदारको हकमा निजको सासु ससुरा समेतका मृत्यु भएको प्रमाण स्वरूप सम्बन्धित निकायबाट मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणित सम्बन्धी कागजात अनिवार्य रूपमा पेश हुनुपर्ने साथै सम्बन्धित स्थानीय निकाय/सरकारी अस्पतालबाट भूकम्पको कारणबाट मृत्यु भएको सिफारिश पत्र समेत पेश हुनुपर्ने ।

२.  रोजगारदाता वा अन्य संघसंस्थाले कामदारलार्इ टिकटको लागि सहयोग नगरेको वा नपाएको भनी नेपाली राजदूतावासले प्रमाणित गरिदिएको पत्र पेश हुनुपर्ने ।

३.  बैधानिक रूपमा श्रम स्वीकृति लिएर आएको, बैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने ।

४.  दुर्इतर्फी हवाइ भाडा खर्च वापत अधिकतम रु. ४५,०००/- र यसै अवधिमा करार अवधि सकिएर पुन: कतार फर्कनु नपर्ने कामदारको हकमा एकातर्फी टिकट खर्च वापत रू. २२,५००/- सम्म मात्र उपलब्ध हुने ।

५.   कामदारले नेपाल जाँदा र कतार फर्कन किनेको टिकट, बील र बोर्डिङ पास समेत पेश गर्नुपर्ने । नेपालबाट कतार फर्कने कामदारको हकमा आवश्यक प्रमाण बोर्ड सचिवालय पठाउने र सो प्राप्त भएपछि निजको बैंक खातामा रकम जम्मा हुन सक्ने ।

६.  उपर्युक्त अनुसार बील पेश गर्दा माथि उल्लेखित रकमभन्दा कमको भएमा बीलमा उल्लेखित रकम भुक्तानी दिने र माथि उल्लेखित रकमभन्दा बढी रकमको बील पेश भएमा माथि उल्लेख भएबमोजिमको हदसम्ममात्र रकम भुक्तानी हुने ।

यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित व्यक्तिहरुले राजदूतावासमा सम्पर्क गर्नुहुन समेत जानकारी गरिन्छ ।

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७२ जेठ ०७