महामहिम राजदूत रमेशचन्द्र पौडेलले इस्लामिक गणतन्त्र इरानको लागि नेपालको गैरआवासीय राजदूतको रुपमा आज तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका महामहिम राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो।
ओहदाको प्रमाणपत्र पेश गरेपश्चात महामहिम राष्ट्रपतिसँगको शिष्टाचार भेटको अवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा मित्रवत् सम्बन्ध रहदै आएको बताउदै लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षाको क्षेत्रमा आपसी सहयोगको ठुलो सम्भाव्यता रहेको कुरा व्यक्त गर्नुभयो।
साथै, वहाँले नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको महामहिम इरानी राष्ट्रपतिका लागि सुस्वास्थ्यका साथै इरान र इरानी जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश प्रेषित गर्नुभयो।
सो अवसरमा इस्लामिक गणतन्त्र इरानका महामहिम राष्ट्रपति डा. मसूद पेजेशकियनले इरानका लागि गैरआवासीय राजदूत नियुक्त हुनुभएकोमा बधाई दिदै राजदूत पौडेलले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्रिय भूमिका र जिम्मेवारी निर्वाह गर्नुहुने आशा व्यक्त गर्दै वहाँलाई इरानी सरकारको पूर्ण सहयोग रहने कुरा बताउनु भयो। नेपालका सम्माननीय राष्ट्रपतिज्यूलाई शुभकामनाको लागि धन्यवाद दिदै वहाँको सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश आफ्नो तर्फबाट प्रेषित गरिदिन आग्रह समेत गर्नुभयो।
नेपाली राजदूतावास,
दोहा, कतार
२०८२ साउन २५ गते आइतबार