विद्युतीय राहदानी (e-Passport) का लागि प्रि इनरोलमेन्ट शुरु भएको सम्बन्धी सूचना

आज मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट लाईभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाण्डौबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (E-Passport) तयार भएको छ । यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई-पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको छ ।

ई-पासपोर्ट प्रणालीको सफलतापूर्वक शुरुवात भएसँगै आजकै मितिदेखि यस दूतावासमा इ-पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ । प्रि-इनरोलमेन्टका लागि निम्न लिंकमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु अपलोड गर्नुपर्नेछ । :

https://emrtds.nepalpassport.gov.np

ई-पासपोर्ट प्रणाली शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सिमित बुकिंग मात्र खुला गरिएको छ । उक्त अवधिभर हालको राहदानीको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्म बाँकी रहेका व्यक्तिले मात्र प्रि-इनरोलमेन्ट गरी समय बुकिंग गरेर लाईभ इनरोलमेन्टका लागि राजदूतावासमा आउनुहुन अनुरोध गरिन्छ । केही दिनपछि अर्को सूचना प्रकाशित गरी थप आवेदनहरु लिन शुरु गरिनेछ ।

२०७८ साल माघ २० गते (तदनुरुप ३ फेब्रुवरी २०२२) सम्म यस राजदूतावासमा MRP को आवेदन दिनुभएका सेवाग्राहीको MRP तयार भई सोही अनुरुप वितरण हुनेछ । यसरी बनाइएका MRP को अवधि बहाल रहने समयसम्म प्रयोगमा ल्याउन सकिने भएकोले MRP बाहकहरुले e-Passport बनाउन आवश्यक छैन ।

ई-पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरीका
१) राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
•पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ (New)
•पुरानो MRP हुनेहरुले नवीकरण (Renewal)
•हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा
•हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged)
त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।
२) त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु भर्ने । कतारमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रि परिचयपत्र नं राख्नु नपर्ने ।

३) त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।

४) त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।

५) तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने छ ।

ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np र यस राजदूतावासको वेव साईट र फेसबुक पेजमा राखिने सूचनाहरु हेर्दै गर्नुहोला ।

प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु:
-नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै ।
-हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै ।
-हालको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
-१६ वर्षमुनिका नेपाली बालबालिकाको हकमा:
बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
-कतारमा जन्मेको बालबालिकाको हकमा यहाँबाट जारी जन्मदर्ताको प्रमाणपत्र । (कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यसै राजदूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरेको प्रति )

नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।

उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा साथमा लिएर राजदूतावास आउनुपर्ने ।

राहदानी शुल्क यथावत रहेको ।
————-
२०७८/१०/२३
६ फब्रुवरी २०२२
नेपाली राजदूतावास, दोहा ।